Ticker

6/recent/ticker-posts

कविताः मायालुसँग -राबत

                                                                    मायालुसँग

                                           

                                                                               -राबत

बाटो पो बिराएँ कि

होसै पो गुमाएँ

जुन बाटो जाँदा पनि तिम्रै ठेगानामा पुग्छु

जुन बाटो फर्किंदा पनि तिम्रै ठेगानामा फर्किन्छु

जहाँ फर्फराइरहेका हुन्छन्- मुटुले गाँसेका लुङ्दरहरू

, मुस्कुराइरहेको हुन्छ- स्यानो पृथ्वी ।

यै स्यानो पृथ्वीको

एउटा कुनामा बसेर कोही

यसरी गर्छ खासखुस

कि उत्पन्न हुन्छ- ठूल्ठूलो शंका

यै स्यानो पृथ्वीको

अर्को कुनामा बसेर कोही

यसरी गर्छ हल्ला

कि, तर्सेर उड्छ- दलिनको चरा

बुर्कुसी मार्छ- पानी पिइरहेको मृग

कोदालो फाल्छ- माटो खाेस्रिरहेको किसान !

यै स्यानो पृथ्वीको

स्या...नो ढिस्कामा उभिएर कोही

घोषणा गर्छ- आफैंलाई सर्वेसर्वा

, बोल्छ रगतको भाषा !

प्रिय !

यत्ति स्यानो पृथ्वीमा पनि

मान्छेसँग, मान्छे किन अपरिचित ?

ईश्वरसँग, ईश्वर किन अपरिचित ?

बाटो पो बिराएँ कि

होसै पो गुमाएँ

जुन बाटो जाँदा पनि तिम्रै ठेगानामा पुग्छु

जुन बाटो फर्किंदा पनि तिम्रै ठेगानामा फर्किन्छु !

एउटै बाटो हिँडेर मान्छे

अनेक ठाउँमा पुग्छन्

म अनेक बाटो हिँडेर पनि

एउटै ठाउँमा पुग्छु

जहाँ फर्फराइरहेका हुन्छन्- मुटुले गाँसेका लुङ्दरहरू

, मुस्कुराइरहेको हुन्छ स्यानो पृथ्वी ।

०००


Post a Comment

0 Comments