Ticker

6/recent/ticker-posts

कविताः पंछी

कविताः पंछी

राजु सिटौला
अनेसास केन्द्रीय महासचिव


आफ्नो गुँडबाट उडेर गएको 

एउटा घाइते पंछी,

जसलाई पार गर्नु छ

देशहरूका नक्सा,

नदीहरूका धर्का,

समुद्रहरूका सुनामी,

अनि मरुभूमिहरूको आँधी,

बारम्बार भाँचिएका पखेटाहरू लिएर

आफ्नैबाट पटकपटक

कोपरिएको शरीर बोकेर

छियाछिया पारिएको हृदय सम्हालेर

कसरी भर्ला उडान?

बर्सौदेखिको घाइते पंछी,

घाइते शरीर बोकेर

उसलाई उडेर जानु छ,

सीमाना भन्दा पर,

क्षितिज भन्दा पर,

आमाको काख भन्दा पर,

बाका नजर भन्दा पर,

एक्लै छिचोल्नु छ उसलाई

अबको बाटो,

पुग्ने छ एक्लै

मान्छेहरूको मरुभूमिमा,

थाहा छ

त्यो अबोध

त्यो निर्दोष पंछीलाई

ठुँग्ने छन् कागहरूले,

लुच्छने छन् गिद्दहरूले,

घाउहरू लाग्ने छन्,

अश्रुहरू बग्ने छन्,

हे कागहरू,

हे गिद्दहरू,

के होला?

तिम्रा ठुँगाइबाट

दुखेको घाउहरूले,

बगेका आँसुहरूले

एक दिन

तिम्रो मथिंगल हल्लायो भने?

एक दिन तिम्रै धरातल बगायो भने?

Post a Comment

0 Comments