Ticker

6/recent/ticker-posts

नवौँ नेपाली साहित्य सम्मेलन अमेरिकाको कोलोराडोमा आजदेखि सुरु हुँदै, १३ प्यानल छलफलसहित भव्य तयारी पूरा

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आयोजना गर्न लागेको नवौँ नेपाली साहित्य सम्मेलन विषयवस्तु, सहभागिता र छलफलका विविध आयामका कारण यसपटक विशेष र भव्य हुने अपेक्षा गरिएको छ। सम्मेलन आज मे २२ देखि २५ सम्म अमेरिकाको कोलोराडो राज्यस्थित डेन्भर सहरमा आयोजना हुँदैछ।



आयोजकका अनुसार उद्घाटन र समापन सत्रबाहेक सम्मेलनमा करिब १३ वटा प्यानल छलफल दुई छुट्टाछुट्टै हलमा सञ्चालन गरिनेछन्। प्रकाशित कार्यक्रम तालिकाअनुसार मुख्य छलफल दिवसमा ‘हल ए’ र ‘हल बी’ मा समानान्तर रूपमा विभिन्न साहित्यिक र बौद्धिक विमर्शहरू आयोजना हुनेछन्। सम्मेलनमा दर्जनौं कृतिहरु लोकार्पण समेत हुनेछन् ।

अनेसास बोर्ड अफ ट्रस्टीका सभापति पदम विश्वकर्माले सम्मेलनका सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएका छन्। सम्मेलनका लागि नेपालसहित विभिन्न देशबाट १४० भन्दा बढी प्रतिनिधिले नाम दर्ता गराइसकेको र स्थानीय सहभागितासहित कुल उपस्थिति २५० नाघ्ने अनुमान गरिएको छ।

यसपटकको सम्मेलनलाई कोलोराडोका नेपाली समुदायले मात्र होइन, स्थानीय सरकार तथा राज्यस्तरका निकायले समेत महत्वका साथ लिएका छन्। अनेसासका महासचिव राजु सिटौलाका अनुसार कोलोराडोका गभर्नर ज्यारेड पोलिस र कंग्रेसम्यान जो नेगुसेलाई कार्यक्रममा आमन्त्रण गरिएको छ। साथै डेन्भर आसपासका चार नगरका मेयरहरूले पनि सहभागिताको प्रतिबद्धता जनाएका छन्।

“नेपाल र कोलोराडोबीचको भौगोलिक समानता तथा यहाँका नागरिकहरूको नेपालप्रतिको सद्भावका कारण नेपाली समुदायलाई यहाँ सम्मानका साथ हेरिन्छ,” महासचिव सिटौलाले बताए।

सम्मेलनमा मदन पुरस्कार विजेता डा. नवराज लम्साल, नीलम कार्की निहारिका, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, अंग्रेजी साहित्यकार डा. ज्याकलिन केरबेक, रेड ओ लाफ्लिन, होमनाथ सुवेदी, राधेश्याम लेकाली, गोवर्द्धन पूजा, पुरु सुवेदी, मोहन सिटौला, भुटानी साहित्य परिषद्का अध्यक्ष खेम रिजाल ऊर्जा, पत्रकार तथा लेखक सुधीर शर्मा, बबिता बस्नेत, बसन्त बस्नेत, विपुल पोखरेल, नारायण श्रेष्ठ, प्रेम बानियाँ, सुरज भण्डारीलगायत साहित्य, पत्रकारिता र सांस्कृतिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहनेछ।

आख्यान, जीवन विज्ञान, काव्यिक परम्परा, डायस्पोरिक साहित्य, पत्रकारिता, महिला साहित्य तथा साहित्यिक सिद्धान्तजस्ता विषयमा केन्द्रित प्यानल छलफलमा ४० भन्दा बढी वक्ताहरू सहभागी हुनेछन्।

सम्मेलनको दोस्रो दिन कवि तथा बीबीसी साझा सवालका पूर्वप्रस्तोता नारायण श्रेष्ठले ‘आख्यानमा इतिहास र इतिहासमा आख्यान’ शीर्षकको प्यानल छलफल सहजीकरण गर्नेछन्। उक्त सत्रमा नीलम कार्की निहारिका, सुधीर शर्मा र बसन्त बस्नेत सहभागी रहनेछन्।

कार्यक्रमको पहिलो दिन प्रेम बानियाँको वृत्तचितत्र 'जिरो टु ८८४८' प्रदर्शन गरिनेछ। त्यस्तै, टीकाराम यात्रीको सहजीकरणमा ‘काव्यिक परम्परा र समकालीन अभिव्यक्ति’ विषयमा डा. नवराज लम्साल, लालगोपाल सुवेदी, सन्ध्या पहाडी र सुदीपभद्र खनालबीच विमर्श हुनेछ।

‘नेपाली महिला साहित्य : संघर्षदेखि सशक्तीकरणसम्म’ विषयक प्यानल छलफलको सहजीकरण बबिता बस्नेतले गर्नेछिन्। उक्त सत्रमा भारती गौतम, पुष्पा शर्मा, लक्ष्मी श्रेष्ठ, मीरा कोइराला, शकुन ज्ञवाली, मीना सुब्बा र तारा अधिकारी सहभागी रहनेछन्।

सम्मेलनमा विदेशी साहित्यकार तथा अंग्रेजी भाषामा लेख्ने नेपाली मूलका लेखकहरूको पनि उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ।

सम्मेलन आयोजनाका लागि करिब ५३ हजार अमेरिकी डलर खर्च अनुमान गरिएको छ। मिडिया तथा प्रवर्द्धन संयोजक दीर्घराज उपाध्यायका अनुसार “स्थानीय नेपाली समुदाय र व्यवसायीहरूले अपनत्वका साथ आर्थिक सहयोग गरेकाले सम्मेलनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न सहज भएको छ" ।

अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष तथा सम्मेलन संयोजक किरण अधिकारीले सम्पूर्ण तयारी पूरा भएको जनाउँदै विश्वभरका नेपाली साहित्यप्रेमीलाई कोलोराडोमा स्वागत गर्न आफूहरू उत्साहित रहेको बताए।

अनेसास पोर्चुगल च्याप्टरको तर्फबाट नवौँ नेपाली साहित्य सम्मेलनको पूर्ण सफलताको हार्दिक शुभकामना।

Post a Comment

0 Comments