Ticker

6/recent/ticker-posts

अनेसास बेल्जियमको अधिवेशन: अध्यक्षमा लोकनाथ शर्मा

बेल्जियम – नेपाली कला, साहित्य र संस्कृतिको प्रवर्द्धनमा सक्रिय अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरको दशौँ अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। आइतबार (२९ मार्च, २०२६) सम्पन्न यस अधिवेशनले ‘लोकनाथ शर्मा’को नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।


निवर्तमान अध्यक्ष सौरभ कारंजितको अध्यक्षता तथा बेनेलक्सका लागि नेपाली राजदूत सेवा लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली साहित्यको अन्तर्राष्ट्रिय विस्तार र प्रवासमा नेपालीपन जोगाउने विषयमा गहन चर्चा भयो।

लोकनाथ शर्माको अध्यक्षतामा निर्वाचित समितिको उपाध्यक्षमा गोपाल दाहाल र जमुना बास्तोला गैह्रे, महासचिवमा सन्तोष न्यौपाने, सचिवमा विष्णु सापकोटा र कोषाध्यक्षमा अच्युत ढकाल चयन भएका छन्। त्यस्तै सदस्यहरूमा मुना राई, मुना ताम्राकार, रिता पाण्डे, लिलाधर पन्त र दिनेश पोखरेल रहेका छन्। आवश्यकता अनुसार थप दुई सदस्य मनोनीत गर्ने अधिकार समितिलाई दिइएको छ ।

कार्यक्रमको मुख्य आकर्षण दुई महत्वपूर्ण कृतिको लोकार्पण रह्यो। नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्त पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’ र नवनिर्वाचित अध्यक्ष लोकनाथ शर्माको मार्मिक मुक्तक सङ्ग्रह ‘परदेशमा गुमनाम’ को संयुक्त रूपमा विमोचन गरियो। परदेशको व्यस्तताबीच पनि सिर्जनाको दियो बाल्न सफल स्रष्टाहरूको प्रशंसा गर्दै राजदूत लम्सालले प्रवासी नेपालीको एकतामा साहित्यले सेतुको काम गरेको बताउनुभयो।

एनआरएनए बेल्जियमका अध्यक्ष कमल पन्थी, अनेसास केन्द्रका उपाध्यक्ष डिल्ली अम्माई, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा आध्यात्मिक गुरु श्रीओम सापकोटालगायतले नयाँ समितिलाई सफल कार्यकालको शुभकामना दिनुभयो। निवर्तमान महासचिव गोपाल दाहालले सञ्चालन गरेको उक्त अधिवेशनले परमानन्द सापकोटा, विमल गिरी, ब्रह्मदत्त वाग्ले, मोहन खत्री र दीपेन्द्र केसीलाई सल्लाहकार चयन गरेको छ।

Post a Comment

0 Comments