अनेसास पोर्चुगल र एनआरएनए केन्द्रका सल्लाहकार साहित्यकार आर.पी. पन्तको शब्द रचनामा नयाँ म्युजिक भिडियो ‘झूटो रहेछ हे दैव’ सार्वजनिक भएको छ ।
पोर्चुगललाई आफ्नो कर्मथलो बनाउँदै आउनुभएका लेखक पन्तले प्रवासको व्यस्तताका बाबजुद पनि नेपाली गीत-संगीतमा आफ्नो यो उत्कृष्ट सिर्जना पस्कनुभएको हो । उहाँका मर्मस्पर्शी शब्दहरूमा नेपालका चर्चित तथा सुमधुर स्वरका धनी गायक शिव परियारले जादुमयी आवाज भर्नुभएको छ, जसले गीतलाई निकै जीवन्त र श्रवणीय बनाएको छ ।
लेखक पन्तको शब्दको गहिराइ र भावलाई पूर्ण रूपमा न्याय गर्दै संगीतकार डि आर अटुले यस गीतमा निकै कर्णप्रिय संगीत संयोजन गर्नुभएको छ । अडियो पक्ष जति उत्कृष्ट बनेको छ, यसको भिडियो पनि उत्तिकै दमदार र आकर्षक निर्माण भएको छ । सार्वजनिक म्युजिक भिडियोमा गमवीर बिष्ट, मीरा पण्डित, रामेश्वर केसी, प्रकाश बस्नेत, नेत्र प्रसाद भुसाल र बबिता पोखरेल लगायतका कलाकारहरूको निकै सशक्त अभिनय देख्न सकिन्छ । कलाकारहरूको यथार्थपरक प्रस्तुतिले लेखकका शब्दहरूले बोल्न खोजेको कथालाई पर्दामा प्रष्टसँग उतार्न सफल भएको छ ।
यस भिडियोको प्राविधिक र निर्देशकीय पक्ष पनि निकै अब्बल रहेको छ । देव दोर्जे लामाको उत्कृष्ट छायांकन रहेको यस भिडियोलाई प्रविण भट्टले सम्पादन तथा रङ संयोजन गर्नुभएको हो । बबिता पोखरेल सह-निर्देशक रहनुभएको यस भिडियोको सम्पूर्ण निर्देशन भने कलाकार तथा निर्देशक गमवीर बिष्ट आफैंले सम्हाल्नुभएको छ । त्यस्तै निर्मल शर्मा उपाध्यक्ष (डैडा) ले भिडियो निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको छ ।
लेखक आर.पी. पन्तको उत्कृष्ट शब्द, शिव परियारको स्वर र सम्पूर्ण टिमको अथक मेहनतले ‘झूटो रहेछ हे दैव’ लाई एउटा अब्बल सांगीतिक कोसेली बनाएको छ, जसले दर्शक तथा स्रोताको मन जित्ने पक्का छ । उहाँलाई हार्दिक शुभकामना ।
0 Comments