पोर्चुगल। नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलले आइतबार जुममार्फत विशेष साहित्यिक अन्तरक्रिया कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाएको छ।
कार्यक्रममा अनेसासका नवनिर्वाचित अध्यक्ष लालगोपाल सुवेदी, वरिष्ठ उपाध्यक्ष तारा अधिकारी, उपाध्यक्ष राज श्रेष्ठ, महासचिव राजु सिटौला, कोषाध्यक्ष पुष्पा खनाल तथा सदस्यहरू मीरा कोइराला, हरिमाया अधिकारी र डा. पारसमणि दङ्गाल लगायतको सहभागिता रहेको थियो। सहभागीहरूले आदिकवि भानुभक्तका प्रतिनिधिमूलक कविता वाचन गर्दै नेपाली भाषा र साहित्यको वर्तमान अवस्था, प्रवर्द्धन तथा प्रवासमा यसको भविष्यबारे विचार आदानप्रदान गरेका थिए।
सो अवसरमा नवनिर्वाचित अध्यक्ष लालगोपाल सुवेदीले केन्द्र र विश्वभर रहेका च्याप्टरबीच अझ सशक्त समन्वय, सहकार्य र सक्रियता आवश्यक रहेको उल्लेख गर्दै अनेसासलाई अझ प्रभावकारी र गतिशील संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अनेसास पोर्चुगलका अध्यक्ष एन.बी. अन्जानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अनेसास पोर्चुगलका वरिष्ठ उपाध्यक्ष सागर शाह ठकुरीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यसमिति सदस्य सजु पौडेलले आदिकवि भानुभक्तप्रति समर्पित सिर्जना प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रम सञ्चालन गर्दै महासचिव मणिराज गौतमले नवनिर्वाचित केन्द्रीय नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै विश्वभर छरिएर रहेका नेपाली साहित्यकारलाई एउटै साझा मञ्चमा जोड्न अनेसासले अझ महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी, अनेसास ओहायो च्याप्टरका कोषाध्यक्ष धनञ्जय भट्टराईले केन्द्र र च्याप्टरबीच 'नङ र मासुको सम्बन्ध' जस्तै आत्मीयता, विश्वास र सहकार्य कायम हुनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा सहभागी वक्ताहरूले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यलाई पुर्याएको अतुलनीय योगदानको स्मरण गर्दै नयाँ पुस्तामाझ नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि अनेसासले अझ सशक्त अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिदै आफ्ना रचना समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रमको समापनमा अनेसास पोर्चुगलका अध्यक्ष एन.बी.अन्जानले सहभागी सम्पूर्ण साहित्यप्रेमी, स्रष्टा, पाठक तथा अतिथिहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गरेका थिए।

0 Comments