कविताः हिँडिरहेकाहरू
-प्रशान्त उप्रेती "भुइँमान्छे"
अनेसास फ्रान्स अध्यक्ष
उनीहरू हिँडिरहेका छन्
सडकमा मात्र होइन,
मान्छेका आशाहरू र मनमा।
नाङ्गो पैताला,
काँडा र कठिन बाटोहरूमा
करुणाको अभ्यास गर्न।
निद्रा छैन, थकान छैन,
आँखामा केवल ध्यान छ।
कसैले खुट्टा गुमाए होलान्, तर कसैले गन्तव्य गुमाएका छैनन्।
यी संरचनाहरू केवल
इँटा र सिमेन्टका भवन होइनन्,
यी त संवेदनाका खुला ढोका हुन्।
त्यो घाइते कुकुर पुच्छर हल्लाउँदै फेरि उठ्छ र सँगै हिँड्छ,
मानौँ युद्ध उसले पनि महसुस गरेको छ,
शान्ति केवल मानिसको मात्र माग होइन रहेछ।
वाशिङ्गटन पुगेर उनीहरू केही माग्दैनन्,
केवल बोध गराउन चाहन्छन्
बुद्ध जन्मिएको भूमि र बुद्धत्वको सार, प्रेम, शान्ति र विश्व-भाइचारा।
उनीहरू हिँडिरहेका छन्,
हजारौँ माइल नाङ्गो खुट्टा शान्तिको सन्देश फैलाउँदै।
हामी भने अझै अल्झिरहेका छौँ,
समाचारका पाना र शक्ति सङ्घर्षका हेडलाइनमा,
ट्रंपले ग्रिनल्याण्ड चाडै जित्छ भनेर
उनीहरू भने मौनतामै 'शान्ति' लेखिरहेका छन्
बाँडिरहेका छन् ।

0 Comments