सुखको खोजीमा दुःख भोग्नेहरुको कथा
रित्तो सपना भरिपूर्ण बनाउने साहारा एक
जीवन सुखमय बनाउने बहाना अनेक
मानिस सुखको खोजीमा भौतारिरहन्छ । उसले जबसम्म सुखको अनुभूति गर्दैन तबसम्म सङ्घर्ष गरिरहन्छ । एक दिन सुख पाउँछु भनेर ऊ सङ्घर्ष गर्न तयार हुन्छ । जीवन सुन्दर बनाउँछु भनेर ऊ दुःख गर्न अगाडि सर्छ ।
हुन त खरको झुपडीमा दुई गाँस खाएर आनन्द र सन्तोषले बसेको मान्छेनै संसारको सबैभन्दा सुखी मानिस हो । तर संसारमा आर्थिक, शैक्षिक सबै क्षेत्रमा प्रतिस्पर्धा यति धेरै बढिसकेको छ कि भौतिक सुखको पछाडि लाग्नेको कुनै कमी छैन । अहिले मान्छेको मनमा सन्तोष भन्ने कुरा छँदै छैन । पैसाले मात्र सबैथोक पाइन्छ भन्ने धारणा बसिसकेको छ । किन नबसोस् पनि ? बिरामी परे पैसा हुनेले उपचार पाउँछ, गरिबले अकाल मृत्युवरण गर्छ । धनीका छोराछोरी बोर्डिङ स्कूल जान्छन्, गरिबका छोराछोरीलाई सरकारी स्कूल जान पनि मुस्किल छ । यसरी देशभित्रै वर्गीय विभेद भएपछि पैसाको पछि लाग्न को बाध्य हुँदैन र ?
सबै मानिस आर्थिक र शैक्षिक रुपले बलियो बन्न चाहन्छन् । आर्थिक रुपले बलियो बन्न उसले हरप्रयास गर्छ–जागिर खान्छ, व्यापार गर्छ । तर अन्ततः जीविकोपार्जनका लागि समेत गाह्रो हुने अवस्था देखेपछि उसले विदेशिने सोंच बनाउँछ ।
धेरैले आफ्नै देशमा आफ्नो शैक्षिकस्तरको जागिर पाएका छैनन् । पाए पनि तलबले जीवन धान्न सक्ने अवस्था छैन । पढेलेखेका युवाहरुकै अवस्था यस्तो छ भने उच्च शिक्षा हासिल गर्न नसकेका युवाहरुको अवस्था झन् कस्तो होला ? आर्थिक समस्या झेल्न नसकेर हालै मात्र नेपालको संसद् भवन अगाडि एकजना युवाले आत्मदाह गरेको विभत्स घटना हामीले देखेका र सुनेका छौं ।
देशभित्र सम्भावना नदेखेपछि दिनदिनै नेपालबाट युवाशक्ति खाडीमुलुक, अमेरिका र युरोप पलायन भइरहेका छन् । कोही भिजिटिङ्, कोही स्टडि त कोही वर्किङ् भिसामा गइरहेका छन् । तर युरोप भित्रिने प्रायजसो युवाहरु कामकै खोजीमा गइरहेका छन् ।
युरोपमा रहेको देश पोर्चुगलमा नेपाली युवायुवतीहरुको जमात उच्च छ । पोर्चुगलले एसियन देशहरुका लागि भिसा खुल्ला नगरेको हुनाले नेपाली युवाहरु पोर्चुगल सीधै नआएर युरोपका अन्य देश जर्मनी, पोल्यान्ड, बेल्जियम, टर्की र माल्टा छिर्छन् । पोर्चुगले सुरुमा टी. आर. र टी. आर. पाएको पाँच वर्षपछि मात्र पि.आर.पासपोर्ट दिने भएकाले नेपाली, एसियन मुलुक र अफ्रिकी देशका युवाहरु युरोपका अन्य देशहरु हुँदै पोर्चुगल छिर्ने गरेका छन् । युरोपभरि छरिएका एसियन र अफ्रिकी युवायुवतीहरु पि.आर. पासपोर्ट पाउन भने पोर्चुगलनै आउने गरेका छन् । हुन त पोर्चुगलको आफ्नै विशेषता छ । यो इतिहासले भरिपूर्ण भएको देश पनि हो ।
पोर्चुगलमा चारैतिरबाट मान्छेहरु आउने भएकाले यहाँ काम पाउन निकै नै सकस छ । पाइहाले भने पनि जीवन धान्न मात्र सकिन्छ । यहाँ काम पाउने भनेको रेस्टुराँ र कृषि क्षेत्रमा हो ।
स्टडि भिसामा युके गएका विद्यार्थीहरु भिसाको म्याद सकेर यही आउने गरेका छन् । भिजिट भिसामा अन्य मुलुक जर्मनी, पोल्यान्ड, स्कटल्यान्ड, टर्की गएका र भिसाको म्याद सकेका नेपालीहरु पनि यही आउने गर्दछन् । टर्कीमा काम गर्न गएका कतिपय नेपालीहरु त काम गर्ने कम्पनीमै पासपोर्ट छोडेर अवैधानिक रुपमा ग्रीस हुँदै एक महिना हिँडेर पोर्चुल छिर्छन् ।
त्यसरी टर्की, टर्कीबाट ग्रिस हुँदै पोर्चुगल छिर्ने युवायुवतीहरुको कथा ज्यादै दर्दनाक छ । एक दिन हिँड्न मान्छेलाई सकस हुन्छ भने ग्रिसबाट जङ्गलको बाटो हुँदै एक महिना हिँडेर नेपाली युवायुवतीहरु पोर्चुगल छिर्ने गरेका छन् । उनीहरु सामूहिक रुपमा पोर्चुल आउने गर्दछन् । हिंस्रक जनावरको डर लाग्ने जङ्गलको बाटो महिनौं हिड्न राजी उनीहरु आफ्नो देश नेपाल फर्किन भने तयार छैनन् । आफ्नो देश फर्कून् पनि कसरी ? लाखौं लाख ऋण लिएर युरोप छिरेका हुन्छन्, पैसा कमाउन र सुविधासम्पन्न जीवन बाँच्ने सपना बोकेर । आफ्नो देश फर्किए फेरि उही बेरोजगारी, गरिबी, ऋण अनि तनावमा डुबेर बस्नुपर्ने बाध्यता हुन्छ ।
ग्रिसबाट पोर्चुल छिर्ने एक नेपाली युवायुवतीको समूहलाई मैले भेटेकी थिएँ । ग्रिसबाट एक महिना जङ्गलको बाटो रोजेका उनीहरुले महिनाभरि पाउरोटी र पानीको भरमा दिनभरि हिँड्नपरेको सुनाए । जङ्गलकै पानी पिएर तिर्खा मेटाउँथे, बाटोमा जहाँ रात पर्यो त्यही जङ्गलमै सुत्थे । विषालु कीरा, फट्याङ्ग्राले नटोकून् भनेर उनीहरु जिउभरि पलास्टिक बेरेर सुत्थे, सास फेर्न नाकको प्वाल मात्र खुल्ला राख्थे । सोच्नुस् त एक रात हामी सुत्न पाएनौँ भने दिन नै तनावमा बित्छ । महिनौँ उनीहरु प्लास्टिक बेरेर त्रसित भएर जङ्गलमा सुत्नुपर्दा रोजगारी नदिने आफनो देशप्रति कति आक्रोश उत्पन्न भयो होला ? आफनो जीवनलाई कस्तो देखे होलान् ? मूख्य कुरो त नेपालीहरु कतिसम्म पीडा सहन सक्छन् भन्ने हो । यति धेरै सहने क्षमता उनीहरुमा कहाँबाट आउछ ?
उनीहरु टर्कीमै काम गर्ने कम्पनीमा पासपोर्ट छोडेर आएका थिए । उनीहरु को हुन् ? कहाँका हुन् ? व्यक्तिगत पहिचानका लागि उनीहरुसँग पासपोर्ट समेत थिएन । जब कि विदेशमा व्यक्तिगत पहिचानका लागि पासपोर्ट हुनु एकदमै जरुरी छ । ती युवायुवतीहरुलाई नयाँ पासपोर्ट कसरी बनाउने ? काम कसरी पाउने ? कतै डेरा खाली छ कि छैन ? भन्ने चिन्ता थियो । एक महिना राम्ररी खान र सुत्न नपाएका ती युवायुवतीहरुका आँखा र गाला सर्लप्पै भित्र धसेका थिए । अनुहारभरि चाउरी, आेंठ सुख्खा, जिउमा हड्डी र छाला मात्र बाँकी थियो । त्यति दुःख झेल्दा पनि उनीहरुको आत्मबल कम भएको थिएन । जिउमा शक्ति नभए पनि मनोबल ज्यादै उच्च थियो । पोर्चुगलमा आइपुगेर पनि उनीहरुले राति शित पर्दा ओत लाग्ने ठाउँ पाएका थिएनन् । यहाँ एसियन र अफ्रिकीहरुको चाप उच्च भएकाले डेरा नपाउने समस्या विकराल छ । डेरा नपाएर कतिले त पोर्चुगलको सडकमै कागज ओछ्याएर रात बिताउने गरेका छन् । अनि बिहान हुनेबित्तिकै कामको खोजीमा भौतारिन्छन् ।
कोही कृषितिर काम गर्न जान्छन्, कोही रेस्टुराँतिर । अरुको देशमा कृषिमै काम गर्न तयार हुने युवालाई आफ्नै देशमा रोकेर राख्न नेपाल सरकारले किन सक्दैन ? यसका अनेक जवाफ होलान् । तर हाम्रो देश कृषिप्रधान देश भएर पनि कृषि क्षेत्रको गुणस्तर सुध्रिन नसक्नु यसको प्रमुख कारण हो ।
पोर्चुगलमा काम पाउन पोर्तुगिज भाषा अनिवार्य जस्तै छ । काम खोज्न जाँदा पोर्तुगिज भाषा आउँछ कि आउँदैन ? टी. आर. कार्ड छ कि छैन भनेर पहिला नै सोधिन्छ । भाषा जान्ने र कार्ड पाएकालाई काममा प्राथमिकता दिन्छन् । भाषा नजान्ने र कार्ड नभएकालाई प्राथमिकतामा राख्दैन ।
प्रशासनिक कामका लागि जाँदा पोर्तुगिज प्रशासकहरु अँग्रेजी भाषा बोल्दैनन् । त्यसैले कि पोर्तुगिजमै बोल नभए ट्रान्सलेटर लिएर आऊ भन्छन् । ट्रान्सलेटर कहाँ खोज्नु ? फि कहाँबाट तिर्ने ? फिनान्स नम्बर, सोसल नम्बर बनाउन पनि त्यस्तै समस्या झेल्नुपर्छ । सुरुमा टि. आर. कार्डको लागि आवेदन दिन भाषा नजानेपछि यति धेरै समस्या झेल्नुपर्छ कि जवान मान्छे पनि तनावले अधबैँसे देखिन्छ झैं अनुभव हुन्छ । टि.आर पाएपछि पनि परिवारलाई बोलाउने तनाव, त्यसपछि पि.आर.पासपोर्ट आवेदन फारम भर्नुपर्ने अर्को तनाव । तनाव यति धेरै हुन्छ कि पोर्चुगलमा दुई,चार वर्षमै युवाहरुको टाउकाको आधा कपाल झरिसक्छ । युवावस्थामै उनीहरु बुढो देखिन्छन् । त्यति धेरै समस्या र तनाव झेलेर पि.आर.पासपोर्ट पाउन पर्खिरहन्छन् । पि.आर. पासपोर्ट पाइसकेपछि आफूलाई इच्छा लागेको युरोपियन जुनसुकै देशमा स्थायी रुपमा बसोबास र काम गर्न सकिन्छ ।
यति समस्या झेलेर पनि आफ्नो देश फर्कन युवाहरु तयार छैनन् । किनकि युरोपियन देशहरुमा गुणस्तरीय शिक्षा, स्वास्थ्य जस्ता अन्य सुविधाहरु निःशुल्क रुपमा पाइन्छ । यहाँ उनीहरु दैनिक १२ देखि १६ घण्टा काम गर्छन् । तर पनि खुशी छन् । किनकि उनीहरुलाई के लाग्छ भने श्रमको मूल्य पाएको छु । तर नेपालमा ८ घण्टा काम गरेर श्रमको उचित मूल्य नपाएपछि निराशा व्यक्त गर्छन् ।
भन्नेहरुले भन्छन् देश त टाठा–बाठा, राजनीतिज्ञ र भ्रष्टाचारीहरुका मात्र हुन् सोझाले गरिबी मात्र भोग्छन् । देश छोड्नु बाध्यता होइन एक प्रकारको विद्रोह नै हो । अहिले विद्रोहको आगो सबै युवायुवतीहरुमा बलिरहेको छ । विदेशिएर युवाहरु आफनो देशप्रति बिद्रोह गरिरहेका छन् । कसैले देखाउँछ, कसैले शान्त तरिकाले विदेशिएर आफनो बिद्रोह शान्त पार्छ । युवाहरुले आफ्नो देशको शासन व्यवस्थाप्रति यति धेरै विद्रोह गर्छन् कि आफ्नो देशमा परिवारलाई समेत बस्न दिँदैनन् । आफूले टि.आर.कार्ड पाउनेबित्तिकै परिवार र छोराछोरीलाई युरोप बोलाउँछन् । यसरी दिनप्रतिदिन युवा शक्ति विदेशिए भने नेपालको विकास कहिले हुन्छ ? कसले गर्छन् ? आखिर देश विकास गर्ने युवाशक्ति नै त हुन् ।
हालः पाेर्चुगल
0 Comments