Ticker

6/recent/ticker-posts

अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन मार्च ८,९ र १० पाेर्चुगलमा, तयारी तीव्र गतिमा

 नेपाली भाषा साहित्यको सबैभन्दा ठुलो सञ्जाल रहेको संस्था “अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज” (अनेसास) ले पोर्चुगलमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको आयोजना गर्ने भएको छ । हरेक वर्ष विभिन्न देशमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन आयोजना गर्दै आएको अनेसासले यो पटक पोर्चुगलमा गर्ने निर्णय गरेको हो ।



आगामी मार्च ८ देखि १० तारिख अर्थात फागुन २५ देखि २७ गतेसम्म तीन दिन आयोजना हुने सम्मेलनलाई अनेसासको पोर्चुगल च्याप्टरले संयोजन गर्दैछ ।

युरोपमा रहेका अनेसासका प्रतिनिधि, साहित्यकार, भाषा सेवी, कलाकर्मी, संस्कृतिविद् लगायत साहित्यिक कर्ममा सक्रिय रहनु भएका व्यक्तिहरूको सम्मेलनमा सहभागिता रहने छ ।

यसका साथै सम्मेलनमा नेपालसहित अन्य मुलुकमा रहेका अनेसास प्रतिनिधि, साहित्यकार, अनेसास केन्द्रीय कार्यसमिति, अनेसास बोर्ड अफ ट्रष्टीसहित अन्य साहित्यकारहरूको सहभागिता रहने छ ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजना गर्न लागिएको सम्मेलनको तयारीका लागि अनेसास पोर्चुगल च्याप्टरकी अध्यक्ष सबी श्रेष्ठको संयोजकत्वमा सम्मेलनको तयारी तीव्र रुपमा अगाडि बढाइरहेको छ ।

सम्मेलन आयोजनामा अनेसास पोर्चुगल च्याप्टरलाई डेनमार्क, बेल्जियम, बेलायत, स्पेन, पोल्याण्ड, जर्मनी, इटाली, नर्वे लगायत युरोपमा रहेका अनेसाका अन्य च्याप्टरहरुले पनि सहयोग गर्नेछन् ।

सम्मेलनमा नेपाली साहित्यमा महिला सहभागिता बारे छलफल, सम्मान कार्यक्रम, पुस्तक लाेर्कापण, अनेसासका बारेमा छलफल, बहुभाषिक साँस्कृतिक कार्यक्रम तथा बहुभाषिक काव्य गोष्ठीको आयोजना हुनेछ।

सामन्यतया अन्तर्राष्ट्रिय सम्मेलनहरुमा नेपाली भाषालाई मात्र प्राथमिकता दिइँदै आएकोमा पोर्चुगल सम्मेलनमा भने सम्भव भएसम्म नेपालका अन्य मातृ भाषाका साहित्य र सर्जकहरुलाई पनि समेट्ने योजना रहेको छ । यसका साथै सम्मेलनमा नेपाली भाषा साहित्यसँग सम्बन्धित विविध विषयमा छलफलको कार्यक्रम पनि रहेको छ ।

युरोपमा रहेर लामो समयदेखि नेपाली भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा काम गरिरहनु भएका तर अनेसासमा आवद्ध नरहेका व्यक्तिहरुको खोजी गरी उहाँहरूलाई पनि सम्मान गर्ने योजना रहेको छ । त्यसका लागि त्यस्ता व्यक्तिहरुको पहिचान गरी नाम सिफारिस गर्न अनेसासका सम्बन्धित च्याप्टरहरुलाई पत्राचार गरि सकिएकाे छ ।

पोर्चुगलको राजधानी लिस्वनमा हुने सम्मेलनको पहिलो दिन मार्च ८ तारिख स्रष्टा भेटघाट तथा परिचयात्मक कार्यक्रम राखिएको छ । त्यसैगरी दोस्रो दिन मार्च ९ तारिख विशेष साहित्य सम्मेलन तथा बहुभाषिक काव्य गोष्ठी राखिएको छ । जसअन्तरगत विविभन्न विषयमाथिको छलफल, कार्यपत्र प्रस्तुति सहित सम्मेलनका सम्पूर्ण गतिविधि रहने छ । त्यसैगरी अन्तिम दिन मार्च १० तारिख काव्यिक भ्रमणको कार्यक्रम तय गरिएको छ । जसमा सम्मेलनमा सहभागी साहित्यकारहरुलाई पोर्चुगलका ऐतिहासिक तथा विशेष स्थानहरुको भ्रमण गराइने छ ।

सम्मेलनको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी पोर्चुगल च्याप्टरलाई दिइएको हुँदा त्यसलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न सम्बन्धित सबैको साथ सहयोगकाे अपेक्षाा गरिएकाे छ ।  साथै  विश्वभर रहेका अनेसासका च्याप्टर प्रतिनिधि, कवि, लेखक तथा अन्य व्यक्तिहरूलाई सम्मेलनमा सहभागी हुन आग्रह  छ । साथै यस सम्मेलनले नेपाली भाषा, साहित्य र संस्कृतिलाई अझै नयाँ ढङ्गले खोज, अनुसन्धान र अन्तर्राष्ट्रियकरण गर्न मद्दत गर्ने विश्वास लिइएकाे छ ।

सन १९९१ मा स्थापना भएको अनेसासको मुख्यालय अमेरिकाको वासिङ्टन डिसीमा रहेको छ । विश्वभरि ८० भन्दा धेरै यसका शाखाहरु रहेको र त्यसमार्फत हालसम्म २ हजार ६ सय जनाभन्दा धेरै नेपाली भाषी साहित्यकारहरु अनेसासमा आवद्ध रहेका छन् ।

Post a Comment

0 Comments