हजुरको कदर कसरी गरुँ ?
![]() |
| कवि- प्रज्वल अधिकारी |
हजुरसँग भेट हुँदा
- भित्र कतै जिरिङ्ग हुन्छ
हजुर बोल्नुहुन्छ
- कानहरू बुद्ध बनिदिन्छन्
हजुरले हेर्नुहुन्छ
- प्रेम आएर मनको चौतारीमा थकाइ मार्छ
हजुर हाँस्नुहुन्छ
- उमङ्गका बकुल्ला हृदयको आकासमा उड्छन्
हजुरले दुई बात के मिसाउनुहुन्छ
- उन्मादको मर्स्याङ्दी उर्लिदिन्छ
हजुर हुनुहुन्छ र त
- दु:ख, पीडाहरूको याद पनि आउँदैन
हजुरले म छु भन्नुहुन्छ
- एक्लै हुँदापनि सँगै भएको आभास हुन्छ
हजुरले के छ ? सोध्नुहुन्छ
- ठिक बाहेक केही हुन्न मसँग
यति ठूलो छ- प्रेमको संसार
यति फराकिलो छ- सम्बन्धको बाटो
यति गहिरो छ- नाताको इनार
तर पनि म
- हजुरकै वरिपरि फन्को लाइरहन्छु
- हजुरकै ठेगानाको बाटो धाइरहन्छु
- हजुरकै नयनका राग गाइरहन्छु
हजुर हुनुहुन्छ भनेपछि
- दिलको घारमा मौरीले श्रृङ्गार रसको मह मात्र काड्छन्
हजुरको लागि भनेपछि
- शब्दहरूले मखमली पच्छ्यौरी बुन्न थाल्छन्
हजुर आउँने बाटोभरी
- जुनकीरीले दीप बाल्छन्
कसरी गरुँ हजुरको कदर
सोच्दा सोच्दै हजुर आइपुग्नुभयो
म माथी-
जाडो यामामा घामको किरण परे जस्तो भयो
पसिनाको नदीले छेउकुना हिर्कायो
ओठमा एक किसिमको खडेरी जस्तो बसिदियो
पैतालाहरूमा अचम्मको काउकुती जस्तो लाग्यो
मैले जानेका शब्दले के भनुँ हजुरलाई ?
मलाई थाहा भएका उपमाले के लेखुँ हजुरको बारे ?
कस्ता अलंकार हुन् हजुरलाई सुहाउने ?
के भनेर, के गरेर गरुँ हजुरको कदर ......?
-✍️प्रज्वल अधिकारी

0 Comments